Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्छः माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकास तथा जनताको समृद्धिका लागि माक्र्सवादी चिन्तनसहितको कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्ने बताएका छन् । मुलुकमा राजनीतिक परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गरे। 

एकीकृत समाजवादीको आज यहाँ सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले बहुसङ्ख्यक जनताको भरोसा रहेको कम्युनिष्ट पार्टीमा निजी स्वार्थ बढ्दै गएकाले विभाजन र पुनर्गठन गर्नुपरेको उल्लेख गर्दै आफ्नो पार्टी सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक रहेको बताए। मुलुकमा गरिबी न्यूनीकरण गर्न औद्योगिक क्रान्तिको खाँचो औँल्याउँदै उनले त्यसका लागि समाजवादी अर्थ व्यवस्थालाई कार्यान्वयनमा जोड दिए।

पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, पार्टीको समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवेदनलाई अनुमोदन गर्न बोलाइएको बैठक यही जेठ २ गतेसम्म चल्ने छ । बैठकमा पार्टीको आन्तरिक विवाद र समसामयिक परिस्थितिबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।