Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतमा उपचार गरेर फर्किरहेकी युवतीको मृत्यु

कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।

एम्बुलेन्समा सवार अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ । मृगौला र फोक्सोसम्बन्धी रोगबाट पीडित परियारलाई अस्पतालले थप उपचार सम्भव नभएको बताएपछि आफन्तले घर ल्याइरहेका बुझिएको प्रहरीले जनाएको छ ।