प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । आज मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
संसदीय दल कार्यसमिति बैठक लगत्तै अहिले संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । दल बैठकमा सांसदहरूले धारणा राखेका छन् । दल बैठकको औपचारिक निर्णय आइसकेको छैन । संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ ।
कांग्रेसले नीति तथा कार्यक्रम बाचन गर्न दिएर त्यसपछिका छलफल भने संसदीय छानबिन समिति गठन नभएसम्म रोक्ने रणनीति लिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग कुराकानी गर्दै नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसका मागमा आफू सकारात्मक भएको बताएका थिए ।