Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

१०२ वर्षीय वृद्धसहित १४३ जनाको शल्यक्रिया

नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।

गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो । चार वर्षदेखि पूर्ण रूपमा देख्न छाडेएका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो ।

नगरपालिका, नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्यगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले बताए । शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।