सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज –मंगलबारदेखि ललितपुरको बालकुमारीमा सुरु हुँदैछ ।
भोलिसम्म चल्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने बैठकमा सङ्गठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने बैठकमा पार्टीको समाजवादी कार्यक्रम, विधान हेरफेरका लागि तयार गरिएको मस्यौदामा छलफल हुनेछ । विधानमा पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई अनुमोदन गरिने जनाइएको छ ।
पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएको जनाइएको छ । विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान परिमार्जन गर्न सुझाइएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
देशभरबाट सहभागी हुने प्रतिनिधि आयोजकको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पूरा भएको छ । पार्टी अध्यक्ष नेपालले उद्घाटन गर्ने बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको छ । नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।