Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नवनियुक्त स्वास्थ्य मन्त्री यादव र राज्यमन्त्री हसिनाले लिए पद तथा गोपनीयताको शपथ

पहिलो निर्णय - अस्पतालहरुमा जनशक्ति थप्ने

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ खुवाएका हुन् ।

यस्तै, नवनियुक्त मन्त्री यादवले सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् ।

स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्ने निर्णय भएको हो । 

जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यावद र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए । उनीहरूले राजीनमा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन् ।