नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आइतबार मुख्यमन्त्री सरोवकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
मधेश सरकारमा माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरतप्रसाद साह रहेका थिए । भट्टराईले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी रहेको बताए ।
नेता साहले मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए । प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाउनुअघि दुबै मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए ।
त्यस्तै, नेकपा (एमाले)ले पनि आजै सरकार छाड्ने तयारी गरेको छ । मन्त्रीहरू बाहिर रहेकाले उनीहरू आइपुगेपछि आजै सरकार छाड्ने एमालेको तयारी छ ।
