Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैनः डा. भट्टराई

पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा। बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आज आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादमा डा। भट्टराईले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेकामा जोड दिए ।

उनले भने, ‘अर्थतन्त्रको अवस्था सुधार्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन । अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन । त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ ।’

अहिलेको व्यवस्थामा छरछ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्ण समानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने उनको भनाइ छ । ‘सरकार छ/छ महिनामा फेरिएका छन् । त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुने गरी सुधार आवश्यक छ,’ डा. भट्टराईको भनाइ थियो । यस्तै, भष्ट्राचार नियन्त्रणका लागि संसदप्रति उत्तरदायी हुने अधिकार सम्पन्न जनलोकपाल निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए ।