वीरगञ्ज महानगरपालिकाले वडा नं ९ स्थित गीता मन्दिर परिसरका अनधिकृतरुपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज तीन वटा एक्जाभेटर लगाएर भत्काएको हो ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जका मठमन्दिर केही व्यक्ति र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताए । ‘भगवानलाई बन्धक बनाएर राख्न पाइँदैन, श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनु पर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ’, नगर प्रमुख सिंहले भने, ‘वीरगञ्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवानलाई बन्धक बनाएर राख्ने चलन छ । त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ ।’ महानगरले मन्दिरको मुलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्जाभेटर लगाएर भत्काएको हो ।
नगरप्रमुख सिंहले केही व्यक्तिले अनधिकृत रूपमा सार्वजनिक मठमन्दिर वरपर संरचना निर्माण गराएर कमाइखाने भाँडो बनाइरहेकाले सोलाइ हटाउने अभियान थालेको बताए । ‘केही व्यक्तिले बिनाअनुमति मन्दिरको सौन्दर्यकरणलाई प्रत्यक्ष प्रभावित पार्नेगरी विभिन्न सटर थापेको पनि पाइयो’, उनले भने, ‘गीता मन्दिर परिसरमा अनुमति बेगर नै व्यापारिक सटर निर्माण गरेर सञ्चालन गरेको पाइएपछि भत्काएका हौँ ।’
नगर प्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबारको स्पष्ट नभएको पनि दाबी गरे । ‘हामीले १२ दिन अगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ । सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ । तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ ।’ सो परिसरमा आधा दर्जनभन्दा धेरै सटर रहेका थिए ।
नगर प्रमुख सिंहले अनधिकृत संरचना भत्काएसँगै अब मन्दिर परिसरलाई व्यवस्थित गराउने बताए । ‘गीता मन्दिर परिसरमा अनधिकृत संरचनालाई पूर्ण रूपमा हटाएर तुरुन्तै व्यवस्थित रूपमा नयाँ खालको आवश्यक संरचना बनाएर अघि बढाउनेछौँ ।’ वीरगञ्ज महानगरले पछिल्लो समय अतिक्रमणमा परेको सार्वजनिक जग्गालाई फिर्ता गर्ने काम गर्दै आइरहेको छ ।