Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बाटोमा हिँड्दा ठोक्किएको निहुँमा बत्तीसपुतलीमा युवकको हत्या, पक्राउ परेकाहरु नाबालक

काठमाडौँको बत्तीसपुतलीस्थित कुमारी टोलमा एक युवकको ज्यान जाने गरी भएको झडप ‘ग्याङ फाइट’ मा पक्राउ पर्ने चार जना नाबालक रहेको खुलेको छ । ग्याङ फाइटमा शम्भु धिमालको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छैन ।

चार नाबालकले मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या गरेका हुन् । मोरङ घर भएर गौशाला बस्ने २३ वर्षीय मनिष चौधरी र शम्भु धिमाल शनिवार साँझ करिब ८ बजेतिर काठमाडौँ–९ स्थित कुमारी टोलमा हिँड्दै गर्दा चार जनाको समूहले चक्कु प्रहार गरी हत्या गरेका थिए ।

मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका थिए । धिमालमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएका थिए । घटनालगतै प्रहरीले उनको उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अस्पताल पुयाएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

विपरीत दिशाबाट आएका चार युवकसँग सडकमा उनी ठोक्किएका थिए । चार जनामध्ये एउटाले सोधे, ‘किन ठेलेको, निहुँ खोजेको हो रु’ विवादमा अचानक समूहबाट एक जना नाबालकले धिमाललाई चक्कु प्रहार गरे । धिमालको पेट, छाती र ढाडमा चोट लागेको छ । प्रहरीका अनुसार उनीहरुले एक अर्कालाई चिनेका समेत थिएनन् । तीन जनाको समूह राति बडे पार्टी मनाएर फर्कदै थिए ।

बाटोमा उनीहरुले छ्याङ खाएका थिए । त्यही क्रममा १४ वर्षका अर्का साथी जोडिए । चार जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवे नेतृत्वको टोलीले घटनास्थलबाट भाग्दै गरेको अवस्थामै ३ जना र पछि अर्का नाबालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।