प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार विहान भएको छलफलमा संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको कांग्रेस नेताहरूले बताएका छन् । छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले आफ्नो पूर्ववत अडान राखेको र प्रधानमन्त्री त्यसमा सकारात्मक भएको जानकारी दिएका छन् ।
‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनु भएको छ’, लेखकले सुनाए । संसद खुलाउने नखुलाउने भन्ने सरकार र सत्ता पक्षमा भरपर्ने कांग्रेस नेताहरूको भनाइ छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए । आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारस्थित निवासमा बोलाएका थिए ।