Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सेती नदी आसपासका १५ ठाउँमा ‘अलर्ट साइरन’ जडान

तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ स्थानमा ‘अलर्ट साइरन’ जडान सुरु गरेको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको यस आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो । करिब ३५ किलोमिटर दुरीमा अलर्ट साइरन राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रीम सूचना दिन लागेको आयोजनाले जनाएको छ ।


जिल्लाको भीमादस्थित हुक्सेटार, दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन स्थानमा जडान गरिसकिएको तनहुँ जलविद्युत् आयोजना वातावरण अधिकृत विशाल भट्टराईले जानकारी दिए । ‘अब छिट्टै इलाका प्रहरी कार्यालय बन्दीपुर साराडघाटमा राखिनेछ’, उनले भने, ‘बर्खा अघि सबै स्थानमा अलर्ट साइरन राखि सक्ने योजना अनुरुप काम थालिएको छ ।’

उनका अनुसार अलर्ट साइरन वायरलेस र सोलारबाट चल्ने छन् । प्याकेज–१ अन्तर्गत करिब ४० मिटर अस्थायी बाँध निर्माण सम्पन्न गरिसकिएको छ । बर्खा भएकाले २० वर्षमा आउनसक्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै उक्त बाँध निर्माण गरिएको हो ।

आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले बाढी पहिराको समयमा अग्रीम सूचना दिनका लागि अलर्ट साइरन राखिएको बताए । उक्त आयोजनामा सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जेभीले गरिरहेको छ ।