प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैसँग रहेको दाबी गरेका छन् । आज शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकपछि उनले उपप्रधानमन्त्री लामिछानेले सहकारीमा गरेको गठीको यथेष्ट तथ्य र प्रमाणहरु सरकारी अड्डाहरुसँगै रहेको बताएका हुन् ।
जिबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मीलगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गर्नको, ठगी गरेकोमा कुनै पनि दुविधा नभएको भन्दै महामन्त्री थापाले तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरु, सिआईबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पति शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई बुझाएको हस्ताक्षर, ल्याप्चे लगायतको यसको परीक्षण नै पर्याप्त हुने दोहोर्याए ।
उनले सहकारी ठगी प्रकरणको विषयलाई खेलाँची नगरी गम्भिरतापूर्वक लिन र वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सरकारलाई सचेत गराएका छन् । महामन्त्री थापाले थपे, ‘यो सरकार र प्रतिपक्ष बीचको यो संसदीय समिति बनाउने कि नबनाउने भन्ने एउटा हाम्रो माग, सरकारको पेलाई एउटा संघर्ष चलिरहेको छ । तर यो बीचमा हाम्रो तर्फबाट सम्माननीय प्रधानमन्त्री ज्यूको के विषयमा ध्यानाकर्षण गराउन चाहन्छु भने यो हामीले सहकारी भनेका छौं । करोडौंको ठगी भनेका छौं । रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरु, पत्रहरु, यति धेरै तथ्य र प्रमाणहरु छन कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन । सरकारी अड्डाहरुमै गएर तथ्य र प्रमाण केलाए हुन्छ ।’ महामन्त्री थापाले सरकारले सहकारी बचतकर्ताहरुको रकम फिर्ता गराउने काममा सरकार गम्भीर नभए समाजमा अप्रिय घटना हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।