Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

देशको अस्तित्वमै खतरा पर्न लाग्यो, राष्ट्रिय सहमति जुटाउन ढिला नगरौंः अग्नि सापकोटा

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नु पर्ने बताएका छन् । अहिलेको संसदले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनु पर्ने उनले उल्लेख गरे ।

प्रेस सेन्टर नेपाल धादिङले आज शनिबार धादिङबेंसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसदलाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जिवन्त, गतिशील र जनमुखी बनाउनु पर्नेमा जोड दिए । ‘राष्ट्रिय सहमतिमा जति ढिला गर्‍यो देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ । सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्नु पर्छ’, उनले भने ।

प्रवक्ता सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नव प्रवर्द्धनमा जोड दिने खालको बजेट ल्याउनु पर्ने बताएका छन् । सबैका लागि समृद्धि हुने नीति, कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउन आवश्यक भएको उनले उल्लेख गरे ।