Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सेनाका नरेन्द्र र सशस्त्रकी पुष्पाले जिते कर्णाली हाफ म्याराथन उपाधि

प्रथम कर्णाली हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र रावल र महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेका छन् ।

शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको म्याराथनमा नेपाली सेनाका रावत प्रथम भएका हुन् । उनले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ११ मिनेट २५ सेकेण्डमा पूरा गरे । नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकेश राई तेस्रो भएका छन् । उनीहरूले क्रमशः १ घण्टा ११ मिनेट ४८ सेकेण्ड र १ घण्टा १३ मिनेट २३ सेकेण्डमा दौड पूरा गरे ।

महिलातर्फ भण्डारीले सोही दूरी १ घण्टा २८ मिनेट १७ सेकेण्ड दौड पूरा गर्दै विजेता बनेकी हुन् । दोस्रो भएकी नेपाली सेनाकी सिर्जना पाण्डेले १ घण्टा ३२ मिनेट ४३ सेकेण्ड तथा १ घण्टा ३६ मिनेट ४० सेकेण्डमा दौड पूरा गरेकी जुम्लाकी राज्यलक्ष्मी रावल तेस्रो बनिन् ।

यसैगरी पाँच किलोमिटर छात्रातर्फ विमला कार्की प्रथम बनिन् । पूर्णिमा बूढाक्षेत्री र लक्ष्मी शाही क्रमशः दोस्रो तथा तेस्रो भए । पाँच किलोमिटर छात्रतर्फ अजय विक प्रथम, रमेश बूढा दोस्रो र नमराज बानियाँ तेस्रो भए ।