‘गृहमन्त्रीले सहकारीबाट ऋण लिएको र एक अर्ब अपचलन गरेको प्रमाण पेश गरौं?’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेशिन जस्तो प्रयोग गरिएको बताएका लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीजी सरकारले गरिरहेको काम कारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो । राज्यका तमाम अङ्गहरुलाई वासिङ मेशिन जस्तो प्रयोग गरियो तपाईहरूले धोएर धोइन्न, पखालेर पखालिन्न । दूधको दूध पानीको पानी संसदीय समितिले छुट्याउँँछ । जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन ।’
उनले भने, ‘हामीले संसदीय छानबिन समिति मात्रै बनाउनुस् अरू केही पनि चाहिँदैन । सरकार तपाईंहरुले चार वर्ष चलाउनुस् समिति बनाउनुस् तपाईहरू नेतृत्व गर्नुस्, हामीलाई गलत साबित गरिदिनुस्, हामी सही छौँ भने हाम्रो कुरा रहन्छ, हामीलाई संख्याको आधारमा सभामुखले हेप्न खोज्ने? पेल्न खोज्ने?’ उनले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।
गृहमन्त्रीले सहकारीको अर्बौ अपचलन गरेको आफूसँग प्रमाण रहेको जिकिर गरे । उनले भने, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौं? सहकारीमा आफैले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौं? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौं?’