Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका दुई युवक सुन तस्करीमा संलग्न

काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका दुई युवक यसअघि सुन तस्करीमा संलग्न देखिएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो ।

रुपन्देहीको सियारी गाउँपालिका घर भएका उनीहरु दुबै यसअघि सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । बिहीबार उनको बा.१३ च ४८५८ नम्बरको गाडीलाई पछ्याएर डीएसपी सुरक्षा केसी नेतृत्वको टोलीले दरबारमार्गबाट ९८ लाख नगद बरामद गरेको थियो ।

दोलखाबाट बरामद गरिएको साढे ११ किलो सुन तस्करीमा उनीहरुको संलग्नता देखिएको छ । अनुसन्धानबाट उनीहरु संलग्नता खुलेपछि फरार अभियुक्त कायम गरेर अदालतमा मुद्दा पेस गरिएको एसएसपी भट्टराईले बताए ।

दोलखामा बसेर सो सुनबारे अनुसन्धान गरेका डीएसपी दीपक खड्काका अनुसार मिलनले सुन कारोबारको रकम क्रिप्टोको माध्यमबाट भुक्तानी गराउने गरेका थिए ।