Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतमा संसदमा बोल्न दिने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज शुक्रबार बस्ने संसद बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्ने दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेसहित शीर्ष नेताहरूलाई संसदमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

ती सांसदका अनुसार बैठकले लामिछानेलाई रास्वपाका सभापतिको हैसियतामा बोल्न दिने निर्णय गरेको हो । बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन वितरण गरिएको थियो । लामिछानेमाथि उठेको विषयमा छानबिन समिति नभएसम्म संसद अवरुद्ध गर्ने कांग्रेसको रणनीति रहेको ती नेताले बताएका छन् ।

सहकारी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रममा जान रोक लगाएको थियो । कांग्रेसले रोष्ट्रममा जान रोक लगाएपछि लामिछानेले आफूले संसदमा बोल्न पाउनुपर्ने बताउँदै आएका थिए ।

उसले लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म संसदमा अवरोध जारी राख्ने अडान लिँदै आएको छ । आज दिउँसो २ बजे बस्ने संसद बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ ।