अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दामा नगरपालिकाका उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललगायत १२ जनालाई विपक्षी बनाइएको छ ।
गैरकानुनी लाभ लिएर राज्यलाई हानि पुर्याई भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप लगाइएको छ । जलेश्वर बजार क्षेत्रमा पीसीसी ढलान गराउँदा उनीहरूले पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
आरोपित सबैलाई बराबर बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

