Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कलंकीबाट हराएकी २० वर्षीया स्नेहा आठ दिनपछि पशुपति क्षेत्रमा विक्षिप्त अवस्थामा भेटिइन्

काठमाडौंको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आठ दिनपछि बुधबार साँझ पशुपति क्षेत्रमा भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको एसपी अधिकारीको भनाई छ । ‘अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ’, प्रवक्ता अधिकारीले भने ।

उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन्। उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् ।

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएका छन् ।