Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राजनीतिकर्मीले आफै विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैनः गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिकर्मीले आफै विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन् । आज बुधबार काठमाडौंमा चलचित्र ‘बोक्सीको घर’ हेरिसकेपछि उनले समाज आफै बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताएका हुन् ।

‘समाज आफै बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन । १० वर्षमा हुन्छ भनेर छोड्यौं भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो । यसको गति बढाउने काम हाम्रो हो,’ उनले भने । महामन्त्री थापाले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । उनले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको बताएका छन् । उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए ।

‘यति धेरै महिलाहरुले सेक्सुअल ह्यारिसमेण्ट आफ्नो जीवनमा व्यहोर्नुपरेको छ । आफ्ना नातागोताहरुबाट । यसलाई बाहिर बताउन सकेका छैनौं । नेपाली समाज धेरै बदलिएको छैन, बदल्नु पर्नेछ । यो फिल्मले आधार दिएको छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले चलचित्रलाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताइन् । चलचित्रले समाजमा रहेको विकृति र विसंगतिको बारेमा आवाज उठाएको बताइन् । उनले चलचित्र बोक्सीको घरलाई चलचित्रमा मात्रै सीमित नगरी चलचित्रले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेको बताए ।