Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसद्मा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राख्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संघीय संसदका सभामुख घिमिरेलाई सम्बोधन गर्दै दिएको लामिछानेको निवेदन सचिवालयमा दर्ता गरिएको छ ।

‘संघीय संसदको गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो । सो सम्बन्धमा मैले संसदमा उपस्थित भई सार्वभौम संसदमार्फत आम जनतालाई जानकारी गराउन चाहेको थिएँ । तर संसदमा उत्पन्न भएको गतिरोधको कारण संभव भएन । यसबाट आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम (२) मा उल्लेख भएको व्यवस्थाको उल्लंघन हुन गएको छ । ' निवेदन पत्रमा लेखिएको छ । 

गृहमन्त्रीले दिएको निवेदनमा 'जनताको जिम्मेवार प्रतिनिधि एवं गृहमन्त्री भएको कारण माननीय सदस्यहरुले उठाउनु भएको विषयमा आम नागरिकलाई जानकारी गराउनु मेरो अधिकार, कर्तव्य र जिम्मेवारी रहेको हुँदा यहि २८ गतेबाट चालु हुने अधिवेशनको यथााशक्य प्रारम्भिक दिनहरुमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाई दिनुहुन, मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरुको सम्बन्धमा उजूरी जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट मलाई जानकारी गराइएको पत्र यसैसाथ संलग्न गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु,’ उल्लेख छ ।

Photo.jpg