Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कांग्रेसले गठबन्धनमा संकट ल्याउन सहकारीको मुद्दा उठायोः रवि लामिछाने

अरूको इशारामा संसद चल्न नदिएर कांग्रेसले अस्थिरता निम्त्याउन खोज्दैछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राजनीतिक अस्थिरता निम्ताउन खोजेको आरोप लगाएको छ । सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो ।

बैठकपछि सह–प्रवक्ता मनीष झाले विभिन्न मुद्दा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै नपरेको व्यक्तिलाई लखेटिरहने कांग्रेसको कदमले मुलुकलाई अस्थीरतातर्फ धकेल्ने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहेपनि यस विषयमा सत्तापक्षले गर्ने सर्वदलीय निष्कर्षलाई भने स्वीकार गर्न सकिने धारणा व्यक्त गरे। बैठकमा संसदको आगामी अधिवेशनको तयारी र बजेटका विषयमा छलफल भएको उनले जानकारी दिए ।

बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाकाबारे जानकारी गराउँदै कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरेको बताए । उनले देश र जनतालाई केन्द्रमा रहेर पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रीत गर्न निर्देशन दिए ।