प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुसँग गरेको भेटका क्रममा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,’ प्रधानमन्त्री दाहालले भनेका छन् । ‘सरकारले लगातार कूटनीतिक पहल गरि नै रहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।’ नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न थप पहल गर्ने बताए ।
‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,’ प्रधानमन्त्री दाहाल सचिवालयले उल्लेख गरेको छ। रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा धर्ना दिएका थिए । प्रधानमन्त्री जनसम्पर्क विज्ञ बुिद्ध जिसीले दाहालले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको जानकारी दिए ।

यो पनिः रुसी सेनामा कार्यरत नेपालीका अफन्तले प्रधानमन्त्रीलाई बुझाए १३ बुँदे माग
रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मागहरु बुझाएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर आफ्ना १३ बुदे माग प्रधानमन्त्री दाहालसमक्ष बुझाएका हुन् । दुई साताअघिदेखि १३ बुँदे माग राख्दै जारी राख्दै आएका उनीहरुले प्रधानमन्त्रीलाई नै भेटेर मागपत्र बुझाएका हुन् । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको अगुवाएमा माग पत्र बुझाइएको हो ।
भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग कतैबाट सम्बोधन नभएको उनीहरूको गुनासो छ । हालसम्म रुसमा कार्यरत रहेकामध्ये अनशनकारीहरुसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् ।
रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।