Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रुसी सेनामा कार्यरत नेपालीका आफन्तले प्रधानमन्त्रीलाई बुझाए १३ बुँदे माग

रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मागहरु बुझाएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर आफ्ना १३ बुदे माग प्रधानमन्त्री दाहालसमक्ष बुझाएका हुन् । दुई साताअघिदेखि १३ बुँदे माग राख्दै जारी राख्दै आएका उनीहरुले प्रधानमन्त्रीलाई नै भेटेर मागपत्र बुझाएका हुन् । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको अगुवाएमा माग पत्र बुझाइएको हो ।

भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग कतैबाट सम्बोधन नभएको उनीहरूको गुनासो छ । हालसम्म रुसमा कार्यरत रहेकामध्ये अनशनकारीहरुसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् । 

रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।