Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बाबुराम भट्टराईको टिप्पणीः नोटमा चुच्चे नक्साको निर्णय दुई देशबीच विवाद चर्काउने कुरा मात्रै

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय दुई देशबीच विवाद चर्काउने कुरा भएको टिप्पणी गरेका छन् । नेपाली १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णयमा टिप्पणी गर्दै उनले सीमा विवाद यसरी हल नहुने दाबी गरेका छन् ।

उनले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रूपमा समाधान गर्न आवश्यक रहेको बताएका छन् । उनले ईपीजी वा नयाँ किसिमको संयन्त्रबाट मात्रै सीमा विवाद हल गरेर जान सकिने तर्क गरेका छन् । ‘नेपालको सीमा विवाद जुन छ, यसको हल हुनुपर्छ, तर समष्टिगत ढंगले । अंश–अंश गरेर यो हल हुँदैन’, उनले भने, ‘अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा मात्रै हुन्छ । यसको हल भनेको ईपीजी वा नयाँ किसिमको अर्को मेकानिजममार्फत सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढंगले नै हल गर्नुपर्छ ।’

सीमा समस्या कि त युद्ध लडेर कि कुटनीतिक तरिकाबाट हल हुने भन्दै उनले तीतो पोखेर मात्रै समाधान नहुने धारणा राखेका छन् । ‘सीमा समस्या की त युद्ध लडेर हुन्छ, कि त कुटनीतिक तरिकाबाट हल हुन्छ’, उनले भने, ‘खाली तीतो मात्रै पोखेर र मुखमात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन् ।’

भट्टराईले खुला सीमानाका कारण नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागिरहेको बताएका छन् । ‘भारतसँगको खुला सीमानाले गर्दा हाम्रो अर्थतन्त्रको आधा हिस्सा चुहिएर गएको र उद्योगधन्दाको विकासमा असर परेको छ । आगामी दिनमा यो क्षेत्रमा जुन सामरिक स्वार्थ टकराउँछ’, उनले भने, ‘भारत–चीन र अमेरिकाको टकराव त देखि नै हालियो ।’