Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सम्बन्धविच्छेका लागि अदालत पुगेका श्रीमानले अदालतमैं श्रीमतीमाथि कुटपिट गरेपछि...

सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्।  गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका ३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्। 

उनीहरुबीच सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका थिए। न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए।

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ भने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए।  हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेँसीकी मनसुवाबीच छ वर्षपहिले विवाह भएको थियो।

श्रीमानश्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्। उनीहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो।