Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नक्कली लाइसेन्स वितरण हुने कुरा सुनेको छु, जनता आक्रोशित छन् - प्रधानमन्त्री दाहाल

लाइसेन्सको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर विभागका अधिकारीहरूसँग छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका थिए।‘सवारी चालक अनुमतिपत्रबारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी वितरण हुनुपर्थ्यो, त्यस्तो भएको छैन,’ उनले भने, ‘नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु। यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु। यो समस्या तत्काल समाधान गर्नुहोस्।’छलफलमा उनले लाइसेन्सको डिजिटल प्रणालीलाई व्यवस्थित गर्नसमेत निर्देशन दिएका थिए।

‘यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनस्तरमा उठेका जिज्ञासा र प्रश्नको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको प्रणालीलाई अद्यावधिक र स्तरोन्नति गर्दै नयाँ प्रणालीमा अगाडि जाने तयारी गर्नुस्,’ उनले भने।

सो क्रममा प्रधानमन्त्रीले यो नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सोबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिएका थिए।छलफलमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललगायतका अधिकारीको उपस्थिति थियो।