बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिकरुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
वैशाख १२ गतेको निर्णयअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।काठमाडौँको वसन्तपुरमा आज एक समारोहको आयोजना गरी प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भाषा सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।