Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लागू पदार्थ दुर्व्यसनविरुद्ध जनसचेतना कार्यक्रम सम्पन्न

युवाहरुमा बढ्दो लागूऔषध प्रयोग र यसको निवारणका निमित्त काठमाडौंको बागबजारस्थित शहिदशुक्र माध्यमिक विद्यालयमा बिहीबार सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

तारकेश्वर–१ मा रहेको नमोबुद्ध ड्रग एन्ड अल्कोहल ट्रिटमेन्ट एन्ड रिहाब्लिटेसन सेन्टर र श्री महाँकाल बागबजार क्लबको सहआयोजनामा विद्यार्थी र स्थानीय युवाहरुलाई लागू पदार्थ दुर्व्यसनविरुद्ध जनसचेतना स्वरुप लागूऔषधले मानसिक, शारीरिक तथा सामाजिक कुराहरुमा ल्याउने हलचलबारे प्रकाश पारिएको थियो ।

q3.jpg

लागूपदार्थ दुर्व्यसन कुनै गाउँ, टोलको समस्या नभइ राष्ट्रकै समस्या भएको र यसको उपचार सम्भव रहेको रिहाब्लिटेसनका परामर्शदाता तथा सञ्चालक ओमकारविक्रम कुँवरले बताए । उनले भने, ‘बालबालिकामा कुनै पनि किसिमको कुलत हुनु अगाडि नै त्यसको असरबारे जानकारी होस् भन्ने हाम्रो प्रयास हो ।’ उक्त कार्यक्रममा सञ्चालक कुँवर र रिहाब्लिटेसनका निर्देशक निशान देउलाले लागू पदार्थ दुर्व्यसनमा कसरी फसिन्छ र त्यसको उपचारका रुपमा मनोपरामर्श, आफ्नै मनोबल र परिवारको साथ आवश्यक रहने कुरा उल्लेख गरेका थिए ।

सोही कार्यक्रममा लागू औषधको सेवनले निम्त्याउने दुष्परिणामबारेको लघु चलचित्र पनि देखाइएको थियो । तारकेश्वरमा रहेको उक्त नमोबुद्ध रिहाब्लिटेसन २०७५ सालमा स्थापना भएको हो । संस्थामा हाल करिब ७० जना पुनःस्थापना कार्यक्रममा सहभागी छन् भने संस्थाले दुर्व्यसनमा फसेका ८५० को सफल उपचार गराइसकेको छ ।

2q.jpg

संस्थाले हालसम्म काठमाडौं, ललितपुर, नुवाकोट र चितवनका विभिन्न स्कुलहरुमा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ र आगामी दिनमा यसलाई थप विस्तार गरिने जनाएको छ ।