Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

पोखराका इन्जिनियर बरालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घूस लिएको अवस्थामा नियन्त्रणमा लिइएका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

इन्जिनियर बराल, सव–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका कर्मचारी सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
 
आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धान थालेपछि बराल वैशाख ४ मा पक्राउ परेका हुन् । 

इन्जिनियर बराल, सव–इन्जिनियर रोकाया र कन्सल्टेन्सी सेवाका सुरज कुँवरसमेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि ३ लाख ५० हजार रुपैयाँ माग गरेको अनुसन्धानमा पाइएको छ । 

दुई लाख कुँवरमार्फत लिई÷लिन लगाई रोकायालाई दिएको खुलेको छ ।  रोकायाबाट लिएर उक्त रकम इन्जिनियर बरालले आफ्नै नाममा रहेको बैँक खातामा जम्मा गरेका थिए भने घूसको बाँकी रकम रोकायासमेतको निर्देशानुसार १ लाख ५० हजार रुपैयाँ कुँवरले सेवाग्राहीबाट बुझि लिइसकेको अवस्थामा उक्त रकमसहित आयोगले पक्राउ गरेको थियो । 

तीनै जनविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा सजाय  ३ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी आयोगले लिएको छ ।