Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार हुनुहुन्छः बाबुराम भट्टराई

‘चुनावअघि भिजेको बिरालो जस्ता प्रचण्ड पछि शेर जस्तो गर्जन थाल्नु भयो’

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताका लागि जे पनि गर्न तयार रहेको आरोप लगाएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कहिले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए । उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे ।

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरुलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए । उनले भने, ‘माओवादी आन्दोलनमा जोडिएका साथीहरुको एउटा ठूलो समूह थियो । ती साथीहरु पनि बडो दुविधामा थिए । कहिले एमालेको पछि लागेको छ, कहिले काँग्रेसको पछि लागेको छ । प्रचण्डजीले उहाँहरुलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नु भएको छ । त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो ।’

उनले भने, ‘प्रचण्डजीलाई मेरो विश्वास थिएन । उहाँ त सत्ताको निम्ति जे पनि गर्नु हुन्छ । तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ । त्यो मलाई थाहा थियो । तर माओवादी आन्दोलनभित्रका साथीहरु अब हामी नयाँ ढंगले जान्छौं । माओवादी युगको, माओवादी विचारको समय सिद्धियो । त्यसले आफ्नो काम सम्पन्न गर्‍यो । अब नयाँ ढंगले रुपान्तरणसहितको नयाँ समाजवादी धुव्रीकरणको जुन कुरा गर्नु भएको छ । हामी त्यसमा आउँछौं भनेको हुनाले एउटा साझा चुनाव चिन्ह लिएर अहिले जाउ, दुई पार्टी अलग अलग भए पनि हुन्छ । त्यहाँ पार्टी एकता कहीँ पनि भनिएको थिएन । माओवादीमा जाने कहीँ पनि भनिएको थिएन । तर पछि तपाईले सबै देखिहाल्नु भयो । जब निर्वाचन भयो । खोलो तर्‍यो, लौरो बिर्स्यो । प्रचण्डजी चुनाव जितिसकेपछि त उहाँ फेरि पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेर जस्तो भएर गर्जन थाल्नु भयो । अनि देखिहाल्नु भयो, फेरि उही कुरा दोहोर्‍याउनु थाल्नु भयो ।’ उनले देशका पुराना पार्टीहरु भ्रष्टाचारमा डुवेको भन्दै सबै पुराना दल मक्कीसकेको र भ्रष्टाचारमा लिप्त भएको र जति गरे पनि नसच्चिने टिप्पणी गरे ।