Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कर्णालीमा नव नियुक्ति चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ, विकासमन्त्री नदिएको भन्दै शाहले गरे बहिष्कार

कर्णाली सरकारले तीन सातापछि पूर्णता पाएको छ । २७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले २१औँ दिन मंगलबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।

मुख्यमन्त्री कँडेलको सिफारिसमा चार मन्त्री र एक राजमन्त्रीले प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । जसमा माओवादीका तीन र एमालेबाट दुई मन्त्रीसहित एक राज्यमन्त्री छन् । माओवादीबाट बिना विभागीय मन्त्रीका रूपमा रनसिंह परियारले शपथ लिइसकेका छन् । उनलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको जिम्मेवारी दिइएको छ ।

आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति भएको थियो, जसमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गहादुर रावतले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

यस्तै, एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विश्वकर्माले शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले भने शपथ ग्रहण बहिष्कार गरेका छन् ।

उनले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री नदिएको भन्दै शपथ ग्रहण बहिष्कार गरेका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री भने मुख्यमन्त्री कँडेल आफैँले राखेका छन् ।