Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

‘सिधाकुरा’ ले प्रशारण गरेको अडियोको प्राविधिक अनुसन्धान गर्न प्रहरीलाई सर्वोच्च आदेश

‘सिधा कुरा डटकम’ ले वैशाख १४ गते प्रकाशित गरेको अडियोको प्राविधिक अनुसन्धान गर्न प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अदालतको अवहेलनासम्बन्धी रिटको प्रारम्भिक सुनुवाइ गर्दै सोमबार उक्त आदेश दिएको हो ।

उक्त अनलाइन न्युज पोर्टलले स्टिङ अपरेशनसम्बन्धी मुद्दाको फैसला प्रभावित पार्न सर्वोच्च अदालतका न्यायाधीश र आमसञ्चार माध्यम सञ्चालकहरू नै संलग्न रहेको प्रमाण भन्दै एक अडियो युट्युबमा अपलोड गरेको थियो ।

आदेशमा भनिएको छ, ‘पेस भएको श्रव्य दृश्यमा उठाइएको विषयवस्तुको सत्य तथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुन बमोजिम कारबाही समेत अगाडि बढाउनु र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत यस कार्यालयमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।’