Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

इलाममा २५ हजार मत गन्दा सुहाङ ३३ सयले अगाडि, मिलनकै वडामा बजेन रास्वपाको घण्टी

स्वतन्त्र उम्मेदवारको अझै शून्य मत

इलाम–२ मा २५ हजार मत गनिसक्दा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङको १, २, ३ र ४ नम्बर वडाको मत गणना हुँदा एमालेका सुहाङले १० हजार ४१९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ७,०६२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५,७५३ मत ल्याएका छन् ।

चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू रहेका छन् । उनले अहिलेसम्म १,४५१ मत ल्याएका छन् । एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २५८ मत ल्याएका छन् ।

इलाम–२ मा अहिलेसम्म २५ हजार ४५१ सदर मत गणना भएको छ । एक लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए । केहीबेर अघिबाट तीन स्थानबाट गणना सुरु भएको हो ।

इलाम क्षेत्र नम्बर २ मा रास्वपाले जित्ने अपेक्षासहित उम्मेदवार बनाएका युवा मिलन योङहाङ लिम्बूले अपेक्षित मत प्राप्त गर्न नसकिरहेका बेला आफ्नै वडामा पनि कमजोर देखिएका छन् ।

मिलनको आफ्नै वडामा बजेन रास्वपाको घण्टी

रास्वपा उम्मेदवार मिलन लिम्बूले माङसेबुङबाट राम्रो मत जम्मा हुने अपेक्षा गरेका थिए । तर, उनकै वडामा सय मत कटेन । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् ।

सो वडाको अन्तिम गणनामा मिलनले ९६ मत मात्र प्राप्त गरेका छन् । माङ्सेबुङ–२ मा पनि एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो ।

मिलनकै वडामा सुहाङले २३५ मतले कांग्रेसलाई लिड गरे । माङसेबुङबाट पहिचानवादी मुढाले अग्रता लिने अपेक्षा समेत मेल खाएन । अहिलेसम्म गणना भएका फाकफोकथुम, चुलाचुली र माङसेबुङ तीनवटै गाउँपालिकामा एमालेले अग्रता लिएको छ । फाकफोकथुम थेगिमको गाउँपालिका भए पनि उनले एमालेलाई उछिन्न सकेनन् ।

स्वतन्त्र उम्मेदवारको अझै शून्य मत
अहिलेसम्मको मत गणनामा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् । अर्का उम्मेदवार धनराज राना मगरले भने २ मत पाएका छन् । शनिबार उपनिर्वाचन भएको इलाम २ को मतगणना आइतबारदेखि जारी छ ।