Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

शहीद लखनको वडानम्बर ७ पालिकाकै उत्कृष्ट, पालिकाले थप पाँच लाख बजेट दिने

गोरखाको शहीद लखन गाउँपालिकाको वडा न. ७ पालिकाकै उत्कृष्ट वडा बनेको छ । विभिन्न मापदण्डलाई आधार मानेर पालिकाले गरेको आन्तरिक स्वःमूल्याकंनको आधारमा उक्त वडा उत्कृष्ट बनेको हो ।

पालिकाले विभिन्न मापदण्ड बनाएर यो वर्षबाट वडाहरुको कामको मूल्याकंन सुरु गरेको हो । योजना छनोट, योजना सम्झौता, योजना रकमान्तर, भुक्तानी, सेवा प्रवाह, राजस्व संकलन, बेरुजु, सुशासनलगायतका मापदण्ड तयार गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘लिजाको जस्तै मापदण्ड बनाएका छौ,’ उनले भने, ‘सोही मापदण्ड अनुसार वडाले गरेको कार्यसम्पादनको आधारमा अंकभार प्रदान गर्छौं ।’

438108250_7690444540977854_5977451578871438042_n.jpg

चालु आर्थिक वर्षको साउनदेखि चैत्र महिनासम्मको कार्यसम्पादनको आधारमा यो वर्ष वडानम्बर ७ उत्कृष्ट बन्न सफल भएको उनले जानकारी दिए । उत्कृष्ट बनेवापत यो वर्ष वडाले थप पाँच लाख बजेट प्राप्त गर्ने पालिकाले जनाएको छ । ‘कार्यसम्पादनको आधारमा उत्कृष्ट बन्ने वडालाई प्रोत्साहन स्वरुप पाँच लाख रकम दिने भन्ने निर्णय गरेका छौ । त्यो रकम वडाले भौतिक पूर्वाधारमा खर्च गर्नुपर्ने हुन्छ,’ पालिका अध्यक्ष मगरले भने ।

438101253_7690444510977857_8776071966582692083_n.jpg

काम गर्ने जोश जागर बढाउँदै वडाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले यो कार्यक्रम संचालन गरिएको उनले बताए । आगामी वर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ । ‘हामी समीक्षा बैठक बसेर मूल्याकंनका केही इण्डिकेटरहरुलाई पुनः मूल्याकंन पनि गर्न सक्छौं,’ उनले भने । यो कार्यक्रमले वडाहरुलाई कार्यसम्पादनमा थप हौसला प्रदान हुने उनको अपेक्षा छ ।