Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

उपनिर्वाचनः इलाम–२ मा हालसम्म ३० प्रतिशत खस्यो मत

इलाम–२ को उपनिर्वाचनमा अहिलेसम्म ३० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ११ः३० बजेसम्म ३० प्रतिशत हाराहारीमा मतदान भएको छ ।

बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ । एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएकाले यहाँ आज उपचुनाव भएको हो ।