Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माधव नेपालले फेरि दिए सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी

‘कांग्रेसलाई शत्रु घोषणा गरे हामी सक्किन्छौं’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसके जस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो । देशलाई अघि बढाउनका लागि हो । त्यसैले हामीले सुशासनको कुरालाई उच्चतम प्राथमिकता दिन्छौँ ।’

उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए । अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरूको विकास, सीप सिकाउने, उद्यमशिलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिए ।

अध्यक्ष नेपालले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टीलाई समाप्त पार्ने खेल रहेको टिप्पणी गरेका छन् । युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै कसैको बहुमत नआएकाले अहिले संसदमा उपस्थित सबै दलको भूमिका समान रहेको बताए ।

उनले भने, ‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन् । त्यसमध्ये ६ वटा सरकारमा छन् । एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ । त्यसैले कोही पनि घमण्डी नहोस् । दम्भ नदेखाऔं, झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको मुख्यमन्त्रीको सिलसिलामा आइसकेको थियो । तर, प्रधानमन्त्रीले लचकता देखाउनु भयो । अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ । अहिले विभिन्न प्रदेशमा हामीलाई स्थान दिइएको छ । कसैले कांग्रेसलाई शत्रु बनाउनु पर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् । त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो । उनले एमालेलाई लक्षित गर्दै अहिले आफूहरुले गरेको गठबन्धन भएपनि कसैलाई त्यो शब्द प्रयोग गर्न अफ्ठ्यारो परेको टिप्पणी गरे ।