Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

डा. बाबुराम भट्टराईले मतदातासँग मागे माफीः गोरखा–२ छाडेर मैले गल्ती गरें, सहयोगको बदला प्रचण्डले जालझेल गरे

प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै गयो

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गत चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा–२ छोडेर आफूले गल्ती गरेको आत्मसमीक्षा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफूले असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका नेता–कार्यकर्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् । २०७९ को आम चुनावमा भट्टराईले प्रचण्डका लागि आफूले जित्दै आएको गोरखा–२ छोडिदिएका थिए । कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउले उनले बताएका छन् । जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउन नहुने उनको भनाइ छ ।

GL-5Cb_XEAAmiO4.jpeg

‘जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताएका छ । साथै विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ । मैले असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु १’ उनले निर्वाचनयता प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै गइरहेको आरोप समेत लगाएका छन् ।

GL-5Cb-XQAEWe2L.jpeg

आफूले प्रचण्डलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको उनको आरोप छ । ‘निर्वाचनयता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्ता स्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलवाड गरिरहेकोलगायत घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन,’ भट्टराईले लेखेका छन् ।