गोरखाको गोरखा अस्पतालमा पहिलो पटक दूरबीनको माध्यमबाट महिलाको पाठेघर निकाल्ने सफल शल्यक्रिया भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–१ की ३८ वर्षीया महिलाको सफल शल्यक्रिया गरिएको हो ।
करिब एक वर्षदेखि तल्लो पेटमा निरन्तर दुखिरहेको भनी उपचारका लागि गोरखा अस्पताल पुगेकी ती महिलाको भिडियो एक्स–रे गर्दा पाठेघरमा १० सेन्टिमिटरको ट्युमर देखियो थियो ।
विशेषज्ञ चिकित्सकहरूको सल्लाह अनुसार पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएकोले ल्याप्रोस्कोपिक सर्जरी अर्थात् दूरबिनको माध्यमबाट पाठेघर र ट्युमर दुबै निकाल्न सफल भएको अस्पतालले बताएको छ ।
निकालिएको ट्युमरको तौल करिब एक किलोग्राम रहेको थियो । ल्याप्रोस्कोपिक स्त्रीरोग विशेषज्ञ डाक्टर राजन महत, डाक्टर विश्वराज खड्का र एनेस्थेसियालोजिस्ट डाक्टर शम्भु अधिकारीको समूहले जिल्लामा नै पहिलो पटक यस्तो शल्यक्रिया सफल बनाएको हो ।
शल्यक्रिया पश्चात् बिरामीको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले बताएको छ । गोरखा अस्पतालमा नै गत वैशाख नौ गते एक महिनादेखि मलद्वारमा बोतल बोकेर बाँचेका गोरखाकै एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको थियो ।