नेपालमा डिजिटल भुक्तानी गर्दै आएको पे वेलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सत्यन्द्र श्रेष्ठ पक्राउ परेका छन् । वैदेशिक रोजगारमा क्यानडा पठाउने भन्दै ६८ लाख २० हजार ठगी गरेको आरोप उनी पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार सत्यन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको हो । २०७७ सालमा स्थापना भएको पे वेलले नेपालमा डिजिटल भुक्तानीमा चर्चा पाएको थियो ।
प्रहरीका अनुसार ३९ वर्षीय सीइओ श्रेष्ठले क्यानडा पठाउने भन्दै जानुका निरौलालगायतबाट ६८ लाख २० हजार उठाएका थिए । पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
वैदेशिक रोजगार विभागको पक्राउ पुर्जीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई अनामनगरबाट पक्राउ गरेको हो ।
श्रेष्ठले पदको दुरुपयोग गर्दै पीडितहरूलाई प्रलोभन दिएर ठगी गरेको आरोप छ । उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।