राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको आरोप लगाएका छन् । इलाममा आयोजित चुनावी सभामा बोल्दै उनले ८० प्रतिशत भन्दा बढी कांग्रेस गुटले कब्जा गरेको टिप्पणी गरे ।
उनले भने, ‘नेपाली कांग्रेसका धेरै सांसदहरू यहाँ हुनुहुन्छ, थोरबहुत परिचय हाम्रो पुरानै हो । म पनि बिपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ । तर, के बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ आज यहाँ रु कांग्रेसभित्र आज एउटा प्रवृत्ति छ त्यसले पार्टीमा हालीमुहाली चलाएको छ । ८० प्रतिशत जति त्यो गुटले कब्जा गरेको छ, त्यसैले त्यो विकृत, भ्रष्ट, निकम्मा समूहको प्रतिनिधि पनि यहाँ उम्मेदवार बनाइएको छ ।’
टिकट किन्नेहरूलाई जवाफ दिनको लागि सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्ने बताए । उनले भने, ‘त्यसैले कांग्रेसको साँच्चै माया गर्ने, बिपीको आदर्शबाट प्रभावित भएर कांग्रेसमा लाग्नुभएको, लोकतान्त्रिक आन्दोलनको संघर्षबाट आउनु भएको भेषराज आचार्य जस्तो मान्छेले टिकट नपाउने कांग्रेसमा के सन्देश दिनुपर्छ रु आफ्नै पार्टी सुधार्नका लागि पनि घण्टीमा भोट हाल्नुपर्छ ।’ वाग्लेले इलामको निर्वाचन आफूहरुले जितिसकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताएका छन् ।
उनले आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूकाविरुद्ध विरोधी राजनीतिक दलहरुले अफवाह फैलाइरहेको बताउँदै उनले पुराना दलहरु पराजयबाट तर्सिएको बताए । ‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप–प्रत्यारोपमा उत्रिएका छन्’, उनले भने । इलामको चुनावी प्रचारप्रसारमा आक्रामक देखिएको रास्वपाका सभापति रवि लामिछाने तथा अरु नेताहरु यतिबेला इलाममै छन् ।