Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कतारका राजा स्वदेश फर्किंदै, के–के छन् आजका कार्यक्रम?

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज बुधबार आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् ।

अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् । 

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ । थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।

साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने गए राति नै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजमा समेत सामेल भएका थिए । उनको सम्मानमा नेपाल सरकारले मंगलबार नेपालभर सार्वजनिक बिदा समेत दिएको थियो ।