Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रपतिले कतारका राजालाई गरे विपिन जोशीको रिहाइको आग्रह, शेखले भने–पहल गरिरहेका छौंं

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताए र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले भने, ‘राष्ट्रपति ज्यूले विपिन जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो । सो क्रममा कतारी राजाले कतारले पहल गरिरहेको जानकारी दिनु भएको थियो ।’

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत वर्ष भदौ अन्तिम साता इजरायल गएका थिए ।

हमासका आक्रमणकारीले गोली बर्साउँदा विपिन साथीभाइसँगै थिए । पहिलोपटक प्रहार गरिएको बम विपिनले समातेर बंकरभन्दा बाहिर फालेका थिए । दोस्रो पटकको बम भने बंकरमै विस्फोट भएको थियो । विपिनले गत असोज १९ गते शुक्रबार परिवारसँग कुराकानी गरेका थिए ।

त्यस क्रममा उनले आमासँग खाना खाइरहेको बताएका थिए । आक्रमणबारे केही नबताएको परिवारले बताएको छ । भोलिपल्ट शनिबार दिउँसो १२ बजेतिर दाइ किशोरसँग विपिनले भिडिओ कलमा कुरा गरेका थिए । ‘आक्रमण हुनसक्ने भएकाले बंकरमा लुक्न सूचना जारी भइरहेको छ’ भनेर विपिनले किशोरसँग भनेका थिए । त्यसपछि विपिनको अवस्था अज्ञात छ ।