Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कतारका राजालाई राष्ट्रपति पौडेलद्वारा स्वागत, सेनाको २१ तोपको सलामी

मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे । स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए ।

Ramchandra.webp

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उनी आज अपरान्ह विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।

सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।