Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

अध्यादेश ल्याएर भए पनि सहकारी पीडितको पैसा फिर्ता गरिन्छः गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेका जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।

इलामको चुलाचुलीमा आज मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने दावी गरे ।

‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ,’ उनले भने, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ । यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ। ’

रास्वपाका सभापति समेत रहेका लामिछानेले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरेका छन् । अहिलेसम्म जस–जसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै उनले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी पनि गरे । मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै सचेत रहन आग्रह पनि गरेका छन् ।