Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा लाग्यो आगो

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए ।

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन् । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।