नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् । देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन् ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै आक्रोशित हुँदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् । उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेका पूर्वमहासचिव मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न उठाए । ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राइभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन’, देउवाले भने, ‘मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नुपर्यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ?’
एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको जिकिर गरे ।
एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको जिकिर गरे । ‘दुई पटक राष्ट्रपति बनिसक्नुभयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्यो तपाईंहरुले’, देउवाले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा कांग्रेस सभापति देउवाले संसदमा आफूहरुले उठाएको विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे । कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।