नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सिसं १२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरुले नेपाल प्रहरी प्रधान कार्यालयको आज अवलोकन भ्रमण गरेका छन् ।
अवलोकन भ्रमणमा सहभागीहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराए।
सो क्रममा सहभागी सैनिक अधिकृतहरुले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङग्रहालय समेतको अवलोकन गरेका थिए ।
अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिमरत अधिकृतहरुले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गरे प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको चर्चा गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै सङगठनबीच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताए ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र नेपाली सेनाका सहायक रथी दिपेशजंग शाहले कृतज्ञताको चिनो आदान प्रदान गरेका थिए । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजनाका समस्या लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरुले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरूपण समेत गरेका थिए । उक्त कार्यक्रममा महासेनानी सूर्यबहादुर थापाले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका थिए ।
तालिमरत अधिकृतहरुमा तीन जना महिला र ३२ जना पुरुषका साथै ६ जना प्रशिक्षक अधिकृतहरुको सहभागिताको रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।