Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कुमारी बैंकद्वारा १० लाख बीमा दाबी भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँ दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती नगर पालिका वडा नं २ निवासी लक्ष्मी पाण्डे र उनका श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो ।

उक्त रकम कुमारीको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्स लिमिटेडबाट बिमा दावी रकम प्राप्त भई बैंकमार्फत सो रकम भुक्तानी गरिएको थियो ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्म बिमा सुविधा प्राप्त गर्न सकिन्छ ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक असक्त, चिकित्सा उपचार र घातक रोगहरुका लागि बिमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । कुमारी बैंकले ४ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बिमालगायत अन्य सुविधा प्रदान गर्दै आएको छ ।

२३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।